Wednesday, August 20, 2014

एकाबिहानै
एक हूल कवि परेवाहरु
बिम्वको खोजीमा निस्कन्छन्

दायाँ फन्को मारेर स्वयम्भूनाथ 
सुस्ताउँछन् एकछिन  आँखाअघिल्तिर
केही सल्लाह गर्छन्
र विष्ट्याइवरी हानिन्छन्
एक पुरानो गुम्बातर्फ
जसको छहारीमा कुनै कवि
लेखिरहेको थियो कविता

एक्कासी, आक्रमण गर्छ कविलाई, परेवाको हूल !

उनीहरु,
पालैपालो थुत्छन्
कविको आँखा
उसको नाक
उसको कान
उसको जिब्रो
उसको गीदी

सबै सबै जम्मा गरेर
उनीहरु
तयार पार्छन एउटा सुन्दर कविता
र वेगले हानिन्छन् आकाशै आकाश
सुनाउन गौतम बुद्धलाई

ती परेवाहरु,
जसको आक्रमणमा मृत्यु भयो कविको
बर्षौँदेखि निसास्सिएका
उसकै कविताका बिम्वहरु थिएछन् !
Share:

0 comments:

Post a Comment