Wednesday, April 30, 2014

कुनै बेला 
चियामा चोपेर निल्न लगाइएको छ मलाई 
एक बिट्टो तास 

श्रीमानलाई अवगत नै छ 
निशन्देह बौद्धिक खेल हो फलाँस 

फलाँस इतिहास हो 
१०औँ शताब्दीदेखिको विश्व परम्परा हो 

फलाँस मनोविज्ञान हो 
जसमा पढिन्छ हरेक खेलाडीको मनोविज्ञान् 
र चालिन्छ हरेक कदम 

फलाँस अनुमान विज्ञान हो 
जहाँ आँकलन गरिन्छ अन्य हातभित्र लुकिरहेका 
बादशाह र गुलामहरु 

फलाँस अँग्रेजी वर्णमाला हो 
अँग्रजी भट्याउनेहरुबाहेक
अरु को हुन सक्छ यो देशको बुद्धिजीवी ? 

फलाँस गणीत हो 
गणतिय ज्ञानबेगर कसरी हुन्छ हिसाबकिताब ? 
फाइदा बेफाइदा ? जीत हार ? 

राजनैतिक दर्शन हो फलाँस ! 

सामाजिक सँस्कार हो फलाँस !

बौद्धिक रवाफ हो फलाँस !

श्रीमान् 
यो देशको एउटा 
वैज्ञानिक 
मनोवैज्ञानिक 
दार्शनिक 
राजनितिज्ञ 
गणीतिज्ञ ...  

समग्रमा,  
यो देशको बहुआयामिक बुद्धिजीवीको 
खुलेआम हनन भएको छ मानवअधिकार 

हेक्का रहोस् श्रीमान्,  
चियामा चोपेर निल्न लागाइएको थियो मलाई 
एक बिट्टो तास ! 

आन्द्राहरुमा बर्षौदेखि हुडल्लिरहेछन् गुलामहरु 
कटक्क खाइरहन्छ ग्याष्ट्रिक पेट 
बान्ता हुन खोज्छ हरेक दिन, 
र घाँटीसम्मै आएर अड्किन्छ बादशाह 
निस्कन्छ केबल,
हप्तौँ पुरानो छ्याङजस्तै अमिलो झोल  
आन्द्राबाट
र, गनाइरहेको छ यो तीतो मुख
बर्षौँदेखि 

थाहा छैन 
कतिन्जेल मच्चिरहनेहो आतङ्क 
मेरो शरीरमाथि 
कहिले पचाइसक्ने हो मभित्रको हाइड्रोक्लोरिक एसिडले 
यसको सम्पूर्ण अवयव  
कहिल मुक्त भइने हो 
यी अनेकन विकारहरुबाट  

श्रीमान् 
गम्भीर खेलवाड भएको छ मेरो स्वास्थ्यमाथि 

तपाइँको "सर्वोच्च" अगाडि आमरण अनशन बसिरहेको छ 
यो द्वन्द पीडित 

श्रीमान्, 
दोषीलाई कडा भन्दा कडा कारबाही होस् ।

Share:

0 comments:

Post a Comment