Wednesday, June 15, 2016

जब रात उदाउँछ
चिहानमा कोही गुनगुनाउँछ 
मृत्युको गीत


आफ्नै अस्तित्वको अन्यौलभित्र,
पुच्छ्रेताराले गर्छ आत्महत्या ।
धर्तीको एउटा कुनामा,
कुनै ‘सैतान’को अप्रिय कामनामा
हुन थाल्छ मन्दिर मस्जिद र चर्चबाहिर,
ईश्वरहरुको मृत्यू ।

प्रताडित हुन्छन् फूलहरु
बतासको चिसो संशर्गबाट
धर्तीले सापटी माग्छ फूलसँग
केही थोपा आँशु
र भिजाउँछ आफ्नो गर्भ

रात डरलाग्दो हुन्छ
लुकिबस्छ नानीहरुको सिरानीमुनि
निवर्तमान हजुरबाले लेखेको
भूतको आत्मकथा

रात हिंस्रक हुन्छ
घरको खोपा खोपाबाट
जवर्जस्ती छिर्न थाल्छ पुरुष गन्ध
चिथोर्न थाल्छ किशोरी रहर

रात कठोर हुन्छ
बल्झन थाल्छ गर्भको घाउ
ऐंठन पर्छ आमाको काख

रात अन्धो हुन्छ
यतिबेलै विनिमय हुन्छन् युवा चाहानाहरु
मरुभूमि बताससँग

रातमा त समय पनि निदाउँछ
दिनभरको थकानबाट
र देख्छ
अँध्यारो सपना

तर
जब जब रात उदाउँछ
चिहानबाट बौरिन्छ एउटा कवि
लल्कार्छ एक्लै अँध्यारो दुनियाँलाई
र गाउन थाल्छ उज्यालोको गीत !

Share:

1 comment: