Thursday, August 13, 2020


उनी बस्छन् आणविक राज्यस्थित शक्तिमत्त स्वेतगृहमा। नाम कोइलाबाजे। आदिगुरु- कोलम्बस।

कोलम्बस चिन्नुहुन्छ? पक्कै चिन्नुहुन्छ। अमेरिकाको पहिलो आप्रवासी।


यूरोपबाट 'सोनेकी चिडिया' समात्न भारत सवार उनको जेमराज जहाज द्रुत मार्गको खोजीमा उल्टो हानिँदा एक अन्जान भूगोलमा ठोकियो। भूगोल सुनौलो एवं मलिलो थियो। भूगोलमा आदिकालदेखि बसोबास गर्दै आएको गहुँगोरो सभ्यता थियो। उक्त सभ्यतालाई पत्तासाफ गरी उनले ‘नयाँ’ ठाउँ पत्ता लगाए, र पत्तासाफ हुन बाँकी रगताम्य घायल अनुहारहरुलाई उनले 'रेड इन्डियन' नामाकरण गरिदिएर उनीहरुकै सुनखानीमा उनीहरुलाई आफ्नो दास बनाइदिए।


अब कोइलाबाजेतिरै लागौँ।


स्वेतगृहमा विराजमान यस कुटिल चेहरा जिवात्-जगतको चासो र अवस्थाप्रति झिँगाको टाउकोजत्ति संवेदनशील भएपनि कोइलाप्रतिको उनको स्नेह भने बुझिनसक्नुको अगाध छ। उनको कोइलाप्रेमालई हजार जिब्रो भएका शेष नागले पनि बयान गर्न सक्दैनन् भने विशेष परिस्थितिमा अधिकतम दुइटासम्म जिब्रो चलाउन सक्ने म बबुरोको के कुरो।  


वायुमण्डलमा उडिरहेको कालो धुवाँतर्फ हेर्दा यिनी संसारकै उत्चतम आनन्द महसुस गर्छन्। सुन्दरताले मुग्ध भएर यीनी कविता कोर्छन् जब हरित डाँडाहरु एकाएक उजाड कोइलाखानीमा परिणत हुन्छन्। यीनको हृदयमा सङ्गीत गुञ्जन्छ जब निर्मल कञ्चन खोलाहरुले रङ्गीन विषादी ओसार्छन्। जब वृक्षका पातपातहरुबाट, फूलका तरेलीहरुबाट कालो कोटमा सजिएर शीतका थोपा भूँइमा टपक्क खस्छन्, उनी अर्ग्याजमले स्खलित हुन थाल्छन्। घना जङ्गलभित्र जब अत्याधिक विष्फोटक पदार्थहरु गुन्जयमान हुन्छन्, लाखौँ आतङ्ककारी रुखहरुलाई जब देशभक्त मिसिनसेनाले एक चिहान बनाउँछ त्यहाँबाट निस्केको आर्तनादले उनको अनुहारमा विजयको मुस्कान तन्किन्छ। उष्ण गर्मीमा यिनी आफ्नो लुगा उतार्दै नाङ्गिन्छन् र सामाजिक सञ्जालमा दुनियाँ शीतल छ, गर्मी भ्रम हो भनेर कुर्लिन्छन्। उनको आक्रोशित मुद्रा चिच्याउँछ- उष्ण गर्मी फगत गरीबहरुको कोकोहोलो हो, आफूसँग एयर कन्डिसनर सम्म नहुनेहरुको रुवाबासी हो। 



एकैछिन


आफ्नो अतिदिक्दारिलो एवं एकोहोरो मिसिन जिन्दगीलाई केही जीवनरस प्रदान गरुँ भन्ने हेतुले म निकै दूर संयोगबस् ‘अतिविकशित’ एव ‘उच्चतम’ मानव सभ्यताको क्रुर चिथोर्याइँबाट जोगिएको एउटा सुन्दर पहाडतिर हानिएको थिएँ। म हरिया पहाडमाझ कञ्चन खोलाको सङ्गीतमा डुब्न चाहान्थेँ, जीव चराचुरुङ्गीसँग केही दिन बिताउन चाहान्थेँ। वनस्पतीमाझ केही पल मातिन चाहान्थेँ। यत्ति गरिसकेपछी म मिसिनजिनीस मान्छेमा रुपान्तरित भइजान्छु कि भन्ने भ्रमले बेला बेला मलाई टेन्ट बोकीवरी विशाल पहाडउपर फैलिएका प्राकृत जङ्गल चहार्न उत्प्रेरित गर्छ। उसो त म संसारकै चरम भौतिक, पुजीँबादी एवं उपभोक्ताबादी राष्ट्रको सिमानाभित्र छु। जहाँ प्राय हरेक मान्छेको थाप्लोमा तिर्नुपर्ने किस्ताको पहाड छ। शिक्षाको किस्ता, स्वस्थ्यको किस्ता, घरको किस्ता, गाडीको किस्ता। किस्तैकिस्ताको गोलचक्करमा तपाइँको जिन्दगी नीरस कामहरुको दास बनेर घुमिरहेको हुन्छ र एकैछिन सोचविचार गर्ने सम्म फुर्सद मिल्दैन। अलिकति बचेखुचेको समय पनि सामाजिक सञ्जाल र घुमाउरा विज्ञापनहरुले स्वाट्टै निलिदिएपछि तपाइँ यिनीहरुको कैदभित्र हिप्नोटाइजड भइदिनुहुन्छ।


एउटा घटना कहूँ?


पत्रकारजी एकजोडी किशोर किशोरीकन पुगेर सोध्नुहुन्छ। 

तपाइँको लक्ष के हो ?

किशोरीजी - टन्नै धन कमाउने। स्तन, नितम्ब र नाकको सर्जरी गराइकन महासुन्दरी भइजाने।

किशोरजी – उधुम पैसा कमाइकन रहरलाग्दो गर्ने, मनलाग्दो किन्ने। महासुन्दरीहरुको आँखामा स्वप्निल महामानव भइजाने। 

तत्कालको इक्षा? – सपिङ् मल जाने, भयङ्कर सपिङ् गर्ने।


अन्तिम दिव्य वाक्य सुनिसकेपछि यी किशोरवयको दैनिक जीवनलाई सुक्ष्म नियालिरहेको क्रेडिड कार्ड कम्पनी एक्कासी प्रकट भइजान्छ र यी दुइ प्राणीलाई एउटा व्यापारिक महलभित्र लिएर जान्छ। यी प्राणीलाई गोहीको छालाको उत्पात महङ्गो ज्याकेट विछट्टै आकर्षक लाग्छ र उक्त परिधानलाई उनीहरु उधारोमा किनिकन फर्कन्छन्। महिनैपिच्छे किस्ता तिरीरहेको स्मार्टफोनबाट आफ्नो नयाँ परिधानमा सजिएर फोटो खिचीवरी सामाजिक सञ्जालउपर पोस्ट्याउँछन् र क्याप्सनमा आफ्नो जिन्दगीको सपना पुरा भएको घोषणा गर्छन्। #dreamcomestrue


उतिखेरै उक्त सञ्जालमा एउटा भाइरल भिडियो हेरिकन यी वयहरु बडो दुखी भइदिन्छन्। जहाँ एउटा गोहीलाई केही तस्करहरुले मारेर छाला काडिरहेका देखिन्छ। 


कुकुरको बच्चो काखमा लिइकन अनुहारको भावभङ्गीलाई दुखको उच्च तहमा सजाइवरी सेल्फी पोष्ट्याउँछन्-  #सेभ ह्युमानिटी, #सेभ एनिमल्स, #सेभ इन्डेन्जर्ड स्पिसिज। लाइक र कमेन्टको व्यग्र प्रतीक्षारत यी प्राणीहरु सारा दिन मोबाइलको पर्दाभित्र घुसिबस्दछन्। अघिल्लो फोटोको लाइकसङ्ख्यालाई माथ गरिसकेपछि उनीहरु एकछिनको लागि बिछट्टै आनन्दलोकमा सुस्ताउन थाल्छन्। लाइकसङ्ख्या माथ नहुन्जेल उनीहरु जिवनको चरम निराशामा छपपटिरहन्छन्। 


हत्तेरी!

कोइलाबाजेको नृशंस अवतारको कुरो गर्छु भनेको म त कता कता बरालिएछु। 

कुरो यस्तो छ सुन्नुस्। 


प्रायजसो मिडिया टेलिभिजनतिर यिनी सामान्यतय मानवअवतारमा नै देखा पर्छन्। तर जहाँ म स्पातमानव, हृदयमानव भइजाने हेतुले बरालिँदै थिएँ, उक्त पहाडको घनाजङ्गलबीच यी बाजेलाई मैले जुन अवतारमा देखेँ नि त्यत्तिको अझङ्ग अवतार महाभारतमा अर्जुनले कृष्णको पनि देखेका थिएनन् होला।



कोइलावतार


हे पाठकवृन्द, 

त्यो पहाडभित्रको घनाजङ्गलमाझ आफ्नो आणविक विमानबाट ओर्लिएपछि मैले यी बाजेलाई जस्तो अवतारमा देखेँ त्यो कहन्छु सुन्नुहवस्। ती कोइलाबाजेको कृत्यले संसारमा जेजति घटनाहरु घटित भए र भइरहेछन् ती पनि सुनाउँछु सुन्नुहवस्।


ती कोइलाबाजेको कोइलावतार कस्तो भने बुलडोजरका जस्ता हात, कन्क्रीटका पिल्लरजस्ता खुट्टा, ड्रिलजस्ता नङ्ग्रा, चिम्नीजस्तो नाक, खोदक मिसिनजस्ता हत्केला, स्पातका साभेलजस्ता दाँत, क्रेनजस्तो घाँटी, लेजरजस्ता आँखा, ब्रुमरजस्तो केश। यस्तो कहालीलाग्दो अवतारमा रुपान्तरित भैसकेपछि अवतार यस्तरी गर्जन थाल्यो मानौँ हजारौँ सिँहहरु उसको कण्ठबाट एकैसाथ गर्जिरहेछन्। 


उक्त जीवको विष्फोटक गर्जन जब डाइनामाइटसरी गुन्जियो, वरीपरीको भूमि प्रकम्पित भएर तहस नहस हुन थाल्यो । रुखविरुवाहरु हाहाकार मच्चाउँदै एकचिहान भए। सारा जलचर थलचरहरु भागाभाग गर्न थाले। उनीहरुको पीडादायी रुवाबासीले जग त्रासले त्राही त्राही भयो। केही क्षणअघिसम्म आफ्नो सुन्दर वासस्थानमा आरामले आफ्नो जिवनका दैनन्दिन कृयाकलामहरुमा निमग्न प्राणीहरुको अवस्था हेर्दा हेर्दै अत्यन्तै कारुणीक भैगयो - कोहीका मुटु निस्केका, कोहीका टाउको पड्केका, कोही रगत छादिरहेका, जलनले छाला काडिएका, कसैका हातखुट्टा भाँचिएका, कसैका प्वाँख डढेका। त्यो चिहानमाथि उक्त कोइलाअवतार अट्टाहास गर्दै आफ्ना खोदकमिसिनजस्ता हत्केला र साभेलजस्ता नङ्ग्राले जम्मै मृत एवं घायल शरीरहरुलाई सोहोर्दै नदी भए नदी, ताल भए ताल, नभए पहाडभरि वरपर मिल्काउन थाल्यो । चित्कार, आर्तनाद र रक्तिम जलकुन्ड देखेर कोइलाबतार झनै उत्तेजित हुन थाल्यो र विशाक्त विर्यपात गरिदियो। हजार नागको बिष बोकेर उक्त वीर्यको भेल बग्दै बग्दै ती रक्तिम नदी र जलकुण्डहरुमा जब समाहित भइगयो र जलको सतह रङ्गीन देखन थाल्यो। रङ्गीन जलावतार देखेर उक्त कोइलावतार उच्चतम आनन्दमा एकछिन् फेरि लठ्ठियो। लठ्ठिएर उसको हृदय एकैछिनमा बडो सिर्जनसिल भैगयो। प्रकृतिको यो विभत्स अवस्थाले मोहित भएर उसभित्र कविता फुर्नगयो।


पाहाडैभरि कम्प उठ्दछ जसै औतार यो गर्जँदा ।

स्वाहा हुन्छ निमेषमा रनवनै चित्कार मीठो अहा ।।

इन्द्रेणी होकि झैँ विषाक्त जलमा रङ्गीन त्यो देखिने ।

मृत्यू फैलिएको छ चार तरफै कस्तो मनै हर्दिने ।।


एकैछिनको काव्य विलाशपछि उसको उदरमा असीम भोक सवार भयो। त्यसपछि ऊ आफ्ना ड्रीलजस्ता खुट्टाले आफूले उजिड्याएको भूमिबाट कोइला खोतल्न थाल्यो। भोको कोइलाबतारले त्यसपछि टनका टन कोइला कर्याम कर्याम चपाउँदै निल्न थाल्यो। जब कोइलावतारले कोइला निल्थ्यो, उसको मुखबाट लाख सुर्जेको ताप बोकेर पृथ्वी पग्लने गरि अग्नी बर्षन थाल्थ्यो। नाकबाट सम्पूर्ण वायुमण्डल अँध्यारिनेगरी धुवाँको मुस्लो निस्कन थाल्थ्यो। आँखाबाट रेडियोविकिरणको बाँड चारैतर्फ अन्धाधुन्द छुट्न थाल्थ्यो।


अहो! यस्तो भयानक परिस्थितिमा पृथ्वीउपर के वित्योहोला भनी ध्यानदृष्टिले हेर्दा जगभरि हाहाकार मच्चिसकेको थियो।


ताप सहन नसकेर धर्तीउपर चुलिएका पर्वतहरुले आ-आफ्नो बख्खु फुकाल्न थाले। आत्तिएर हिमनदीहरु तछाँडमछाड गर्दै मधेसतिर फाल हाल्ने क्रममा पहाडका बस्तीहरु तहसनहस हुन थाले, मधेस शरण लिन आइपुगेका हिमनदीको अझङ्ग फौजले सारा मधेस डुब्न थाल्यो। पृथ्वीको शिरबाट फूटेका सहस्र पसिनाको उत्ताल बेगले सप्त सागरमाथि आफ्नो कब्जा जमाउन थाल्यो। सप्त सागरमाझ म्रैतीपूर्ण उभिएका तमाम सभ्यताका आइल्यान्डहरु छिनमै स्वाहा भैजान थाले। 


जेनतेन ज्यूँदा प्राणीहरु जब स्वास फेर्न खोज्दथे, फोक्सोभरि बाक्लो धुँवा जमिदिन्थ्यो र चिथोर्न थाल्थ्यो। आँखाउपर ध्वाँसो टालिन थाल्थ्यो। यही मौकामा झरी अग्निदेवको रिस बोकेर बर्सिदियो र जहाँ जहाँ बर्सिदिन्थ्यो उक्त ठाउमा जलनको अमीट छाप छाडिजान्थ्यो। आँधी पनि कोटीकोटी पवनदेवको जम्मै शक्ति बटुलेर आफ्नो रौद्र रुप धारण गर्यो र टुक्रा टुक्रा नहुन्जेल भेटिएका जम्मै कुराहरु उचाल्दै पछार्दै गर्न थाल्यो।


आफ्नो उदर तृप्त भएपछि कोइलाबतारलाई खपिनसक्नु प्यास लागेर आयो। प्यासले चुर भएर ऊ पहाडको घनाजङ्गलबीच आफूनिर्मित उक्त उजाड कोइलाखानीमा गजधम्म बस्यो र ध्यानदृष्टिले सारा धर्तीमुनि नजर डुलाउन थाल्यो। नजर डुलाउँदा डुलाउँदा मध्यपूर्वीभागमा धर्तीमुनिको एक कुण्डमा गएर उसको दृष्टि टक्क अडियो। आफ्नो अत्भूत आणविक शक्तिको जादुद्वारा त्यहीँ बसी-बसी उसले सो कुण्डबाट तनतनी पेट्रोलियम तेल पिउन थाल्यो। केहीबेरको लागि तिर्खातृप्त भइ उक्त कोइलावतार आफ्नो मानवअवतारमा रुपान्तरित भइवरी आफ्नो स्वेतगृहमा फर्कियो र संसारलाई आफ्नो देशको शक्ति र समृद्धिको ग्राफ हरियो रङ्गमा उकालो चढिरहेको देखाउँदै संसारउपर आफ्नो जमिन्दारी अधिपत्यको साङ्केतिक समाचार प्रचार पसार गर्न थाल्यो।  

इति।



होडबाजी 


पख्नोस् पख्नोस्, यी त कोइलाबाजेहरुमध्धेका एक कोइलाबाजे जसको मैले वृतान्त सुनाएँ। 


संवृद्धिनामक ग्राफले उत्प्रेरित भनौँ कि, कालो सम्पन्नताको छुद्र प्रतिस्पर्धा या संसारउपर आफ्नो हैकमको भोकतृप्ती जे जसो हो, संसारका कैयन् टुत्राहरुमाथि हैकमगरी बस्ने मानवतारहरुलाई संसारकै सर्वसक्तिमान कोइलावतारमा रुपान्तरित भैजानु छ र आफ्नो शक्ति र सम्पन्नताको ग्राफलाई रातारात उकालो चढाउनु छ। ‘सर्वशक्तिमान कोइलावतार भइजान पाउँ’ भन्ने वर राखी घोर तपस्यारत अन्य कोइलाबाजेहरु यो जगउपर छ्यापछ्याप्ती नै छन्, जो संसारका कुनाकुना संयोगबस् जोगिएर रहेका जे जति प्राकृत घनावनस्पतीनगरीहरु छन्, तँ भन्दा म के कमको अहंमा आफ्नो रौद्ररुप धारण गरी द्रुतगतिमा विनाशलीला मच्च्याइरहेछन्। 


भर्खरै भर्खरै, स्वेतगृह निवासी कोइलाबाजेहरुको शताब्दीयौँ लामो शक्तिशाली कोइलावतारलाई परास्त गरीकन नवसर्वशक्तिसम्पनन्न कोइलावतार बन्न सफल भएका छन् हिमवत् खण्डको उत्तरतर्फ ‘बर्जित शहर’छेऊ विराजमन गोलबाटुल कोइलाबाजे भने हिमवत् खण्डको दख्खिन अवस्थित कोइलाबाजेको तपस्या हेर्नुभयो भने लाग्छ केही समयभित्र यो ताज उनी आफ्नो शिरमा सजाएर काकाकुल देशको मृत देहमाथि विराजमान हुनेछन्। 



अन्त्यमा 


भोक लाग्यो कि यी कोइलाबाजेहरु आफ्नो कोइलाबतारमा प्रकट भइहाल्छन् र तत्क्षण संसारभरका हरित पहाडहरुउपर नजर डुलाइहाल्छन्। आफ्नो अधिपति भैगएको भूभाग आफ्नै बाजेको बिर्ता भैगयो, आफ्नो अधिपति नभैगएको भूभागमा पनि यी आफ्नो अत्भूत आणविक शक्तिको जादुद्वारा अथवा साम दाम दण्ड भेदको प्रपन्च जुटाइकन टनका टन कोइला उदर गर्छन् र ट्याङ्क का ट्याङ्क मट्टीको तेल घुट्क्याइहाल्छन्। सारा प्राणीजगत उनीहरुको यो भोक भोजनको आततायी श्रिङ्खला ट्वाँ परेर हेरिरहन्छ। निल्दै कलेटी परेको हावा, आफ्नो ध्वाँसे फोक्सो लिएर अंध्यारो कुनामा चुपचाप खोकिरहन्छ आधुनिक सभ्यताको विमार।

Share:

0 comments:

Post a Comment