हङ्ग्री आई आर्ट ग्यालरी ।
दमकल चोक हुँदै तपाईँ कुपन्डोलतिर लाग्दै हुनुहुन्छ भने पुल्चोकको आकाशे पुल कट्नेबित्तिकै एउटा बाटो बायाँ लाग्छ । तपाईँ मःमको पारखी हुनुहुन्छ र पेटमा कम्तिमा मःम अटाउन सक्ने भोक हाजिर छ भने दिशा बताइराख्नु नै परेन, तपाईँ सोझै त्यतै लाग्नुहुनेछ । मःम खानूस्, नखानूस् तपाईँको खुसी तर तपाईँ सीधै अगाडि बढ्नूस् अब । सुजुकीको स्वरूमतर्फ केही नजर फ्याँक्नूस् । सुजुकी ब्राण्डसँग जोडिएका केही घटनाक्रम, सपना वा तिक्तता छन् भने एकैछिन त्यहाँ उभिएर टोलाउने छुट तपाईँलाई छ ।
स्वरूमलाई दायाँ पारेर अझै अगाडि बढ्नूस् । तपाईँ मलाई एकै छिन पर्खिन सक्नुहुन्छ भने म बाँयातिरको थकाली भान्छाघर छिर्छु, भोको पेटमा मलाई छिटै रिस उठ्छ । आफैँलाई रिस उठाउने मुडमा यतिखेर म छैन । पर्खिनु तपाईँको बसमा छैन र तपाईँलाई छालाको ज्याकेट मेड इन नेपालको सोख छ भने अलि अगाडि बढेर बाँयातिरको ल्याटिडो छिर्न सक्नुहुनेछ । सीधै अगाडि बढेपछि एउटा किताब पसल छ बायैँतर्फ, आँखालाई गेट खोलेर भित्र पस्ने अनुमति दिनुहोस् । त्यहाँ किताब पसल पनि छ भनेर तपाईँलाई कसैले नभनिदिएसम्म तपाईँ किताब खोज्न पाटन या बागबजार कुदिहाल्ने प्रवल सम्भावना छ । अब चार पाइला अघि बढाउनुहोस् र बाँयातिर हेर्नुस्, कविता भेट्न म अक्सर यतै आउने गर्छु ।
ऊ यहाँ यतिबेला छैन । यहाँ रहने उसको निश्चित समय छ– बिहान, दिउँसो, बेलुका । यहाँ नरहने पनि उसको निश्चित समय छ– बिहान, दिउँसो, बेलुका । तपाईँ भित्ताभरि झुण्ड्याइएका ग्रामीण नेपालका टुक्राटाक्री हेर्दै गर्नूस्, म उसलाई एउटा ट्रङ्कल गर्छु । तर खास कुरो चैहिँ मैले तपाईँलाई यहीँसम्म ल्याउनु मात्रै थियो । यसपछिको यात्रामा तपाईँ जता पनि मन्द्राउन सक्नुहुन्छ । मलाई लाग्छ, तपाईँ चित्रकला भेट्दा त्यस्तो उत्साहित हुनुहुँदैन जस्तो कविता भेट्दा आजकाल कवि उत्साहित हुँदैनन् ।
‘यतै आऊ हो, चा खाम्’
‘चा’अर्थात चिया । जसरी जेरी हाम्रो लागि ‘जुल्पी’। हाम्रो रैथाने लवज । लत कफीकै लागोस् हाम्रो लागि त्यो ‘चा’ नै हो ।
हिमालयन जाभा कफी हाउस ।
आक्रोशबाबा कहनुहुन्छ– ‘एक जना कविकेटोले चा खाम भनिहाल्यो । त्यति भनेसी चाको तलतलले सताई त गो । तलतल मेटाएर गइदिम् भनेर बसियो । केटोले चा बनाउन यति मिहिनेत गर्यो कि, नकुरा गरम् । कित्लीमा पानी बसालेर चिनी राख्यो, दूध राख्यो, चियापत्ती राख्यो । अनि चट्टसँगले अदुवा खुर्केर सिलौटोमा थिच्यो र त्यो पनि राख्यो । त्यसपछि केटो बेचैनीमा यताउता भौँतारिन पो थाल्यो । आफैँ बर्बराउँछ, ‘यतै राख्याथेँ’ भन्छ, ‘कहाँ परेछ’ भन्छ, ‘थुक्क मेरो सुर’ भन्छ । घरि खाटमुनि हेर्छ, घरि आलमारी खोल्छ। बजियाले अलैँची पो खोज्या रै’छ । पाँच मिनेटपछि आखिर अलैँची पनि भेटाइछाड्यो । पिसेर धुलोपीठो पारिकन खन्यायो कित्लीमा । चा जमानामै उम्लिसक्यो । आफूलाई चैँ कतिखेर खाऊँ भइसक्यो। अब त सक्यो होला भनेको कहाँ हुनु? ‘एक्कै छिन है !’ भनेर ग्याँसको आँच सानो बनाइवरी केटो त पवनगतिमा बाहिर पो कुद्यो । केहीबेरको विलम्बपछि हातमा एउटा सानो पोलिथिनको कुटुरोको साथ केटो हाजिर भो । हैट ! ल्वाङ्–सुकमेल लिन गा’रैछ । ल्वाङ्–सुकमेल पनि पिस्न थालि’गो । चियामा त्यति राखिसकेपछि एक छिन के–के सोचेजस्तो गरेर घोरिन थाल्यो। अनि ‘अँ’ को भावभङ्गीमा केटोले ठूलै कुरा सम्झ्याजस्तो गरी मरिचको धुलो निकाल्यो र एक चिम्टी सर्र झार्यो कित्लीमा । अनि दालचिनीको पात निकाल्यो र एउटा पात फुत्त खसायो । त्यसपछि बल्ल गिलासमा चा खन्यायो । चा खन्याइसकेपछि त्यसमाथि हल्का कफीको धुलो पनि छर्कियो । त्यति गरिसकेपछि लगभग आधा घन्टापछि केटोले आखिर चा ल्याइछाड्यो ।
भर्खर निस्किएको एउटा कवितासङ्ग्रह भुइँमा राखेर बस्न खोज्दै मात्रै के थिएँ उसले एक अध्याय ‘चा’ महात्मय सुनायो । किताबभित्रबाट कमिलासरी दार्शनिकहरू तँछाडमछाड गर्दै बाहिर निस्किए ।
यत्रो विधि प्रतीक्षाको फल त मीठो हुनुपर्ने हो । मीठो पनि भो भनुम् । तर के खाइयो के खाइयो । चाको तलतल ज्यूँ का त्यूँ ।’
इतिश्री ‘चा’ महात्माय !
भर्खर निस्किएको एउटा कवितासङ्ग्रह भुइँमा राखेर बस्न खोज्दै मात्रै के थिएँ उसले एक अध्याय ‘चा’ महात्मय सुनायो । किताबभित्रबाट कमिलासरी दार्शनिकहरू तँछाडमछाड गर्दै बाहिर निस्किए । भित्र मिथकहरूको अन्तर्राष्ट्रिय महासम्मलेनमा हुलदङ्गा मच्चिएछ । हतियारले सुसज्जित प्राचीनकालीन महानायकहरू पनि भागभाग गर्न थाले । पाना पल्टाएर भित्र हेर्न मात्र खोजेको के थिएँ कुहिएका विम्बहरूको ह्वास्स गन्ध आयो ।
‘सर, के पिउनुहुन्छ ?’
‘कफी नै खाने भनेर आएपछि निख्खर कालो कफी खाइदिने नि ! न चिनी, न दूध, न सुक्मेल, न ल्वाङ्को ल्याङ्ल्याङ् । जसले कफीमा चिनी हालेर खान्छ त्यो चिनीको अम्मली या पारखी हो, कफीको हैन ।’
‘अमेरिकानो ?’
‘अँ, अनि एउटा गिन्सबर्गो ।’
‘यहाँभित्र एउटा गज्जब कविता छ सुन्ने ?’
म आक्रोश बाबालाई सोध्छु । ऊ आफूलाई १००९ बाबाजी भन्न रुचाउँछ । यसको छुट्टै कहानी छ जुन जरुरत परे कुनै दिन सुनाउँला नै ।
बाबाजीले खासै सकारात्मक सङ्केत देखाएनन्, बर्बराउन पो थाले–
‘कि ता ढुङ्गै पो हूँ कि त म कविता बुझ्दिनँ सखा
छुदैनन् फिटीक्कै हरफहरूले क्यारुँ मन ता ।
कि छन् साह्रै साह्रा भुटिकन अखट्यासरी मकै
कि छन् पप्कर्न् जस्तै फुसफुस अहो भोक उस्तै ।।’
एक्लै उभिएको एउटा नवीन कविको प्राचीन हंश उत्तरी ध्रुवबाट फालहान्दै आइपुग्छ र आक्रोशबाबाको मुखार्विन्दभित्र धुवाँको धागोसरी छिर्न थाल्छ ।
तब, आक्रोशबाबा फेरि कहनुहुन्छ–
‘त्यो प्रभाव खै तिम्रो कवितामा, जस्तो कुनै फिल्म हेरेपछि कैयौँ समयसम्म तिमीमा रहिरहन्छ ।
कुनै गज्जब फोटोग्राफी हेरेपछि, तिमीमा जुन् त्यो ह्याङ्ओभर चलिरहन्छ ।
कुनै चित्रकलाको अवलोकनपछि, जुन कथा आँखाभरि नाचिरहन्छ ।
त्यो मात खै, खै त्यो धङ्धङी, कुनै नाटक हेरिसकेपछि तिमी लामो समयसम्म अनुभूत गर्छौ ।
त्यो मीठास, त्यो लत खै, जुन एउटा गीत सुनेपछि तिमीभित्र गुन्जिरहन्छ ।
त्यो उर्जा, त्यो आक्रोश खै, जुन कुनै ओजस्वी नेताको दमदार भाषण सुनेपछि मगजभरि छाइरहन्छ ।’
यति भनिसकेपछि आक्रोशको शरीरभरि विभिन्न रङ्हरू देखा पर्न थाल्छन् । शरीरका अङ्गहरू भिन्न भिन्न रङहरूसँग घोलिँदै पग्लिन थाल्छन् । पग्लिएर ऊ भुइँभरि पोखिन्छ । भुइँको क्यानभासमा एउटा अद्भुत चित्र बन्छ । बिछट्टै सुन्दर ।
कुनै मनुवाले ‘कस्तो चित्र ?’ भनी सोध्यो भने म व्याख्या गर्न सक्दिनँ । ‘चित्रभित्र के थियो त ?’ भन्दा त्यसको पनि उत्तर मसँग छैन । ‘चित्रले के भनिरहेको जस्तो लाग्यो ?’ भनी सोध्दा पनि मसँग कुनै जवाफ छैन । यो चित्रको सन्देश, अर्थ, विचार, वाद आदिबारे म पूर्ण बेखबर छु । तर बस्, चित्र बेहद मन परिरहेछ । बिछट्टै शान्ति दिइरहेछ यो चित्रले । अकल्पनीय आनन्द ।
के यसरी रङहररूजस्तै गरी शब्दहरू पोखिन सक्दैनन् ?
‘सक्छन् ।’
घर फर्किरहेको एक मनुज एकछिन् रोकिन्छ ।
‘कत्ति कविताहरूमा त शब्दहरू यसरी पोखिएका हुन्छन् कि ती शब्दहरूको आरोह अवरोह, त्यहाँभित्रको सङ्गीतले नै थुप्रै कुरा भनिसक्छ । कविताले पस्कन खोजेको विचार, बोल्न खोजेको आदर्श र दिन खोजेको अर्थसँग बिलकुल अबोध हुँदाहुँदै पनि कस्तरी मात लागिदिन्छन् कुनै कविताहरू …’
यति भन्दा भन्दै ऊ फेरि घरतिरै लम्किन्छ ।
‘कता ? कुन स्वप्निल स्मृतिमा हराको ?’
‘अरे ! कसले सोहोर्यो रङहरू ?’, आक्रोशलाई पुरानै रूपमा गजधम्म बसेको देखेर म अक्कबक्क पर्छु ।
‘आफैँ पोखिने आफैँलाई सोहोर्ने हो जिन्दगीमा ।’
‘तर तिमी जसरी पोखियौ नि, त्यसमा धेरैको आपत्ति हुन सक्छ । पोखिएर तिमी के बन्यौ ? न चरा बन्यौ, न रूख, न फूल, न ढुङ्गा, न त सायद आफू नै बन्यौ । ठ्याक्कै बुझिनेगरी तिमी केही पनि बनेनौ । यसरी पोखिएर के फाइदा ?’
‘मेरो मनोदशा न चरा, न रूख, न ढुङ्गा, न फूल ! आफ्नै अनुहारको आवरण उतार्नु थियो त म सेल्फी खिचिबस्थेँ । कुनै मूर्त कुराले मेरो मनोदशा प्रतिबिम्बित गर्थ्यो त किन यसरी पोखिनुपथ्र्यो ?’
‘लौ है, कुरो चैँ सगरमाथा जत्तिकै गहिरो छ !’, फुक्र्याउन खोज्छु तर ऊ फुर्किदैन ।
‘कोही यसरी पोखियोस् कि हेर्ने जोसुकै मनुवालाई पनि आफ्नै जिन्दगीका रङ्गहरू पोखिएझैँ लागिदियोस् ।’
‘खै त हौ, कफी आइपुग्दैन त !’
कफी कुर्दाकुर्दै ह्वात्तै अध्याँरो छाइजान्छ । बादल साहिँलाले सुर्जे माइलीलाई झपक्कै अँगालोमा पो बेरिगएछ । कफी सप अघिल्तिरको ल्याम्पोष्ट आँखा मिच्दै उठ्छ ।
अञ्जुलीमा केही थान जूनका टुक्राहरू लिएर म हताश मुद्रामा आक्रोशबाबालाई वधशालातिर ध्यानदृष्टिले हेर्न निवेदन गर्छु ।
ल्यामपोष्टबाट हिउँ परेसरी बरर्र…. जूनका टुक्राहरू खस्न थाल्छन् । म कफी सपबाट जुरुक्क उठेर खरायोसरी बुरुक्क उफ्रिँदै ल्याम्पोष्टमुनि पुग्छु र उत्साहित हुँदै एक एक गर्दै ती टुक्राहरू बटुल्न थाल्छु । टुक्राहरू टिप्ने क्रममा एकपछि अर्को आकृति मसँगै थपिन थाल्छन् । एकैछिनमा थप केही आकृतिहरू हँस्याङ्फस्याङ् गर्दै आइपुग्छन् अनि तँछाडमछाड गर्दै झरेका जूनका टुक्राहरू सोहोर्न थाल्छन् । हेर्दा हेर्दै चारैतिरबाट कमिलासरी आकृतिहरुको भेल उर्लेर ल्यामपोष्टमाथि आइपुग्छ । बटुलेका जूनका टुक्राहरू हातहातबाट खोसाखोस हुन थाल्छन् । आकृतिहरूबीच ठूलो दङ्गा मच्चिन्छ । दङ्गामा केही आकृतिहरूको मृत्यु हुन्छ ।
मृतक आकृतिहरूको झोला खोतल्न थाल्छन् केही जिवीत आकृतिहरू । झोलाभित्र भेटिन्छन् केही समाचारहरू, केही बासी नीतिशास्त्रहरू, अर्ती उपदेशहरू, केही नारा, केही भाषण, केही दर्शनका अर्धमृत धुकधुकीहरू । झोलाभित्र जे–जे भेटिन्छ बेप्रवाह आफ्नो झोलामा कोचेर ती आकृतिहरू वधशालातिर अन्धवेगमा फरार हुन्छन् ।
अञ्जुलीमा केही थान जूनका टुक्राहरू लिएर म हताश मुद्रामा आक्रोशबाबालाई वधशालातिर ध्यानदृष्टिले हेर्न निवेदन गर्छु ।
अपहरित वाक्यहरूलाई वधशालामा अन्धधुन्द काटकुट गरेर टुक्राटुक्रा पारिसकेपछि ती आकृतिहरूले दिवङ्गत वाक्यका टुक्राहरूलाई सादा क्यानभासमा आ–आफ्नो ढङ्गले थाकमाथि थाक मिलाएर राख्न थाल्छन् । र अन्त्यमा, आ–आफूले सोहोरिल्याएका जूनका टुक्राहरू त्यहाँउपर छरिदिन्छन् ।
आक्रोशबाबा कहनुहुन्छ, ‘त्यहाँ म तिम्रो पनि चेहेरा देखिरहेछु ।’
‘खै त हौ, कफी आइपुग्दैन त ?’
कफी कुर्दाकुर्दै ह्वात्तै उज्यालो छाइजान्छ । सुर्जे माइलीले बादल साहिँलालाई लात्ताले हानेर क्षितिजपारि पुर्याइदिइछिन् ।
‘आइपुग्यो, आइपुग्यो, लिनूस् ।’
‘अनि, यो के नि ?’
‘यो एक प्लेट कविता हाम्रो तर्फबाट ।’
कफी सर्भ गर्ने काली–काली वर्णकी नेवार चेहेरा, जसले म आइपुग्नुभन्दा अघि आक्रोशबाबासँगको रुमानी बातचीतमा आफूलाई तराई बसाइँसराई भएकी तामाङ् बताएकी थिइन्, जतनसाथ एउटा प्लेट अघि राखिदिँदै भन्छिन्– ‘मेरो फेवरेट पोएम तपाइँहरूका लागि ।’
पाईँ यी चित्रकलामाथि आफ्ना आँखा टाँसिरहन चाहानुहुन्छ भने तपाईँ निश्चिन्त त्यसो गर्न सक्नुहुनेछ । तर, डिजिटल्ली कुनै पनि चित्रकला आफ्नो डिभाइसमा कैद चैँ नगर्नुहोला ।
‘प्लेटमा त पानी नै पानी छ त !’
‘ल्याउँदा ल्याउँदै जम्मै पग्लेर आँशु भैगएछ । केही शब्दहरू अँझै बाँकी छन् होला, छानेर खानुस् न !’
‘ए साँच्ची ! एउटा भोको कविको हंश छाडेर आएको छु तिम्रो ग्यालरीमा ।’, म आक्रोशबाबातर्फ मोडिन्छु, ‘बडो दिक्दारीमा भड्किरहन्छ आजकाल ।’
‘त्यो तिमी नै हौ कि भन्ने मेरो विश्वास थियो र छ ।’, यति कहेर आक्रोशबाबा कफी कपभित्र अन्तध्र्यान हुन्छन् ।
हङ्ग्री आई आर्ट ग्यालरी ।
ए ! तपाईँ त यतै पो बरालिनु भा’रैछ । ल हेर्नूस् भित्तैभरि आकर्षक चित्रकलाहरू । ग्रामीण नेपालका परिवेशहरू । मन्दिर, गुम्बा र हिमालका कलात्मक दृश्यहरू । तपाईँ यी चित्रकलामाथि आफ्ना आँखा टाँसिरहन चाहानुहुन्छ भने तपाईँ निश्चिन्त त्यसो गर्न सक्नुहुनेछ । तर, डिजिटल्ली कुनै पनि चित्रकला आफ्नो डिभाइसमा कैद चैँ नगर्नुहोला । फोटो खिच्न यहाँ बिलकुल मनाही छ । तपाईँलाई भोक, तिर्खा या तलतल केही छ भने ग्रीन टीसम्म पिलाउने व्यवस्था छ । बस्दाखेरी भित्तामा अडेस नलगाइदिनुहोला, पछाडि राखिएका चित्रकलाहरूलाई यस किसिमका मानिसहरुप्रति तीव्र घृणा छ ।
तर तपाइँले यहाँ एउटा कुराको कमी चैँ महसुस गर्नुहुनेछ । जसको ग्यालरीसम्म मैले तपाईँलाई डोहोर्याएर लिएर आएँ उसको भने तपाईँले एउटै मात्र चित्रकला झुण्डिरहेको देख्नुहुनेछ, जुन अझै पूर्ण भइसकेको पनि छैन ।
आफ्नो चित्रकलालाई व्यवसायिक रूपमै खरो उतार्ने उसको मनस्थिति अहिलेसम्म बनिसकेको छैन । आफ्ना चित्रकलाहरू ऊ निक्कै कम बिक्री गर्छ । व्यवसायिक भइयो भने विस्तारै बजारबाट ऊ निर्देशित हुन थाल्छ, र स्वतन्त्र भइकन ऊ आफ्नो चित्रकलामा प्रयोग गर्न पाउँदैन, यस्तो सोच्दछ । जिन्दगी ज्यूँन पुगेसम्म ऊ आफ्नै ढङ्गले चित्रकलामा विविध प्रयोगहरू गरिरहने नै छ । आफ्ना चित्रकलाहरूलाई कुनै बृहत् प्रदर्शनीमा उसले त्यतिखेर राख्नेछ जतिखेर आफ्ना केही बाँकी कामहरू पूरा गर्नेछ । तर उसलाई यस्तो जाँगर जुर्नचैँ सूर्य या चन्द्रग्रहण नै कुर्नुपर्छ ।
त्यहाँ ऊ उत्तेजित मनस्थिति लिएर छिर्छ र स्खलित भएर फर्कन्छ । त्यही गुफाभित्र नै जन्माएको छ उसले कैयन रहरलाग्दा चित्रकलाहरू ।
बाँचुन्जेल जिन्दगीमा कुनै हतारो छैन । मरेपछि हतारो गर्नुपर्ने केही चाह रहने नै छैन ।
तपाईँलाई एउटा कुरा बताउँ– यो ग्यालरीभित्र एउटा रहस्यमयी गुफा छ जहाँ थरीथरीका प्राचीन शिवलिङ्गहरू र अद्भुत घन्टीहरू विविध मुद्रामा विराजमान छन् । रङ्गीविरङ्गी ध्वजापताकाले बेरिएका किसिम किसिमका त्रिशुलहरूको जङ्गल जस्तो लाग्ने त्यो न कुनै पावनभूमि हो न ऊ कुनै शिवभक्त ब्रह्माण । त्यहाँ ऊ उत्तेजित मनस्थिति लिएर छिर्छ र स्खलित भएर फर्कन्छ । त्यही गुफाभित्र नै जन्माएको छ उसले कैयन रहरलाग्दा चित्रकलाहरू ।
तपाईँ पीडा लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
तपाईँ खुसी लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
तपाईँ क्रोध लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
तपाईँ नैराश्य लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
तपाईँ प्रशन्नता लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
तपाईँ दिक्दारी लिएर छिर्नूस् त्यहाँभित्र, आनन्दित भइकन निस्किनुहुनेछ ।
जस्तो हरेक मनस्थितिमा तपाईँ आफ्नो प्रिय सङ्गीत सुन्नुहुन्छ र सन्तुष्ट या आनन्दित भइजानुहुन्छ ।
अब तपाइँ मलाईँ यो नसोध्नुहोस् कि कविताको यस्तो किताब कहाँ छ जुन पल्ट्याउन कुनै तयारी गर्नु नपरोस्, कुनै ‘पर्फेक्ट मुड’को जरुरत नपरोस् । हर मनस्थितिबीच कोही ती किताबका पानाहरू पल्ट्याउन चाहोस् र आनन्दित भइजाओस् ।
बरु, त्यस्तो कुनै किताब भेट्नुभयो भने त्यसमा आक्रोशबाबाको ठेगाना टाँसेर पठाइदिनुहोला ।
https://www.sahityapost.com/2020/08/14363/ बाट साभार।
Such a Fantastic & Really Nice and original Post .Keep Posting Good ContentLike This .Thanks For Sharing .
ReplyDelete2020 Toyota Urban Cruiser
Mahindra Thar SUV 2020 Review
Automobile Cars MotorBike Travel Vlogs
Construction Cleaning Service Auckland
Everything about UV300
Mahindra XUV 300 Variant Explained
Mahindra XUV 300 Variant comparison
thank you 🖇️❤️ woww
ReplyDelete