Thursday, July 21, 2011


सानो छँदा सपनाहरु आकाशमा उड्थे
समय स्थिर थियो
घडीमा सधै चार बजिरहन्थ्यो

यतिबेला
अकाशिएको छ सपनाको महङ्गी
तेज रफ्तारमा छ समय

बेफुस्रदिला छन् घडीका सुईहरु

तेर्सिएकोछ अगाडि
एक गिलास जिन्दगी
 जुन कत्ति मीठो छैन

 स्वतः पुष्टि हुन्छ- 'जीवन अझै मात्तिएको छैन'

मान्छे सडकपेटीमा समय बेचिरहेछ …
मान्छे सडकपेटीबाट समय किनिरहेछ …

थप गिलास जिन्दगी
अलिक मीठो लाग्दैछ

-'जीवन अझै आत्तिएको छैन'

घण्टाघर वरिपरि घुमिरहेछ मान्छे
समय माथ्लो तलाबाट खित्का छाड्दैछ

बेखबर छ शहर
समय !
समय मान्छे बेचिरहेछ  !

अन्तिम गिलास जिन्दगी वान्ता गर्दैछ ।
Share:

0 comments:

Post a Comment